लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी

टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन।

किसानको तरकारी बारी। तस्विरः योगेश रावल

शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएको टमाटर बारीमै कुहिन थालेकोमा चिन्तित छन्। उनी टमाटरका बोट हेरेर टोलाएर बस्छन्। नागरिककर्मी बारीमा पुग्दा उनको अनुहार मलिन थियो। उनले टमाटरको मुल्य सोध्दा बोल्नै सकेनन्। उनले यति मात्रै भने–‘पैसा तिर्नु पर्दैन। कति चाहिन्छ। टिपेर लैजानुस्।’

उनले १० कठ्ठामा बेमौषमी तरकारी खेती गरेका छन्। उनको छ जनाको परिवार तरकारी खेतीमा संलग्न छ। तरकारी खेतीबाट भएको आम्दानीले नै उनको परिवार पालिएको छ। धान, गहुँ, मसुरो, तोरी जस्ता अन्य बाली छोडेर उनी विगत केही वर्षदेखी तरकारी खेती गर्दै आएका छन्।

टीकापुर नगरपालिका–३ कटानपुरकी देशरानी चौधरीको अवस्था पनि त्यस्तै छ। उनले १० कठ्ठामा बेमौषमी काँक्रा फलाएकी छन्। उनले अहिलेसम्म काँक्रा बेचेर लगानी समेत असुल हुन नसक्ने सम्भावना रहेको बताइन्।
उनको बारीमा समेत लटरम्म काँक्रा फलेको छ। तर काँक्रा किनिदिने कोही छैन। बारीमा फलेको काँक्रा सड्न थालेको छ। उनी लगायत कटानपुरका २७ घरपरिवार तरकारी खेती गर्छन्।

दिपज्योति महिला कृषक समूहमा आवद्ध उनीहरुले १६ विगाहमा तरकारी खेती गर्दै आएका छन्। चौधरी सो समूहकी कोषाध्यक्ष हुन्। उनले समूहमा आवद्ध सबै किसानको अवस्था आफ्नो जस्तै रहेको बताइन्।

अघिल्ला वर्षहरुमा टीकापुर भन्दा टाढाका बजारमा समेत बिक्री भएको कटानपुरको काँक्रा यो वर्ष बारी भन्दा टाढा जान सकेको छैन। ‘अघिल्ला वर्षमा ब्यापारीले बारीबाटै किनेर लैजान्थे’ उनले भनिन्–‘यो वर्ष कोही सोध्न समेत आएको छैन।’

कोरोना संक्रमण नियन्त्रणका लागि देशभर जारी लकडाउनका कारण तरकारी खेती गरेका अधिकांश किसानको अवस्था यस्तै छ। उनीहरुले यो वर्ष तरकारी बालीमा गरेको लगानी समेत असुल नहुने बताएका छन।
रानी जमरा कुलरीया सिँचाई आयोजनाको कमाण्ड क्षेत्रमा ३ सय घरपरिवारले व्यवशायिक तरकारी खेती गर्छन। यतिबेला किसानले लटरम्म बेमौषमी तरकारी फलाएका छन्। बिक्री हुन नसकेका कारण किसानका बारीमा काँक्रा, टमाटर, लौका, खुर्सानी, भान्टा, भिन्डी लगायतका बेमौषमी तरकारी सड्न थालेको छ। रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेलले २० लाख बराबरको बेमौषमी तरकारी खेर गैसकेको बताए।

उनका अनुसार अहिले किसानको बारीमा झण्डै एक करोड बढीको बेमौषमी तरकारी फलेको छ। ‘लकडाउन लम्बिने हो भने किसानको सबै तरकारी खेर जाने निश्चित छ’ उनले भने–‘यो वर्ष किसानका लागि निकै दुःखद रह्यो।’

आयोजनासँग तीनवटा पालिकाका किसान आवद्ध छन। उनीहरु कोही व्यक्तिगत रुपमा तरकारी खेती गर्छन् भने कोही सामुहिक रुपमा तरकारी खेती गर्दै आएका छन। आयोजनाले विभिन्न ठाउँमा तरकारी समूह गठन गरेको छ।

मुख्यगरी टीकापुर नगरपालिकाका वनगाउँ, वनगाउँ (टीकापुर), कटानपुर, रामपुर, घिया, बाघमारा, छेकरखैला, झुँगा गाउँका बासिन्दा तरकारी खेती गर्दै आएका छन। त्यस्तै लम्कीचुहा नगरपालिकाका हल्द्वानी, चाँगाबाढी र जानकी गाउँपालिकाका सुवर्णपुर, जवलपुर, जगतपुर, मुनुवा लगायतका गाउँमा समेत तरकारी खेती हुने गरेको छ।

आयोजनाले १० कठ्ठा भन्दा माथि तरकारी खेती गर्ने व्यक्तिलाई मात्रै आवद्ध गरेको छ। त्यो भन्दा थोरै क्षेत्रफलमा तरकारी खेती गर्ने किसानको संख्या अझ धेरै छ। उनीहरु समेत लकडाउनको मारमा परेका छन।NagarikNews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार