फोनिज, गण्डकी प्रदेशद्वारा आकष्मिक कोषको स्थापना

पोखरा, मंगलबार असार ०९ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले “फोनिज, गण्डकी आकष्मिक कोष”को स्थापना गर्ने निर्णय गरेको छ ।फोनिज, गण्डकी प्रदेशको हालै सम्पन्न भर्चुअल बैठकले कोरोना महामारीबाट प्रभावित एवं अन्य समस्यामा परेका आदिवासी जनजाति पत्रकारलाई सहयोग गर्ने उद्देश्यले आकष्मिक कोषको स्थापना गर्ने निर्णय गरेको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।

बैठकले कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने आदिवासी जनजाति पत्रकारहरूको कोरोना बीमा, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा राहतको व्यवस्थाका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।साथै, बैठकले विषयगत रुपमा विभिन्न शीर्षकमा अनलाइन कक्षा सञ्चालन गर्ने, गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको अवस्थाबारे जानकारी लिइ पेशागत तथा स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था गर्ने निर्णय पनि गरेको छ । बैठकमा फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुम गुरुङले संघीय समितिले गरेका निर्णयबारे जानकारी गराउँदै फोनिजले गर्नुपर्ने कामका बारेमा आवश्यक दिशानिर्देश गर्नुभएको थियो ।

त्यसैगरी, फोनिज, गण्डकी प्रदेशका सल्लाहकार केबी रानामगरले आदिवासी जनजाति पत्रकारहरूको समस्याप्रति संवेदनशील हुनुपर्ने आवश्यकता रहेको र सम्बन्धित निकायसमक्ष समस्या समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । बैठकमा जिल्ला शाखाहरूको तर्फबाट समेत गतिविधिबारे जानकारी गराइएको थियो ।

बैठकमा उठेका विषयहरूका बारेमा जवाफ दिँदै अध्यक्ष एमबी आस्था मगरले फोनिज, गण्डकी प्रदेशले कोरोना भाइरसको महामारी र लकडाउनका कारण संगठनलाई गतिशील बनाउन नसकेको तर, गर्न सकिने कामलाई भने अघि बढाउने सोंच बनाएको बताउनुभयो । अध्यक्ष मगरले आदिवासी जनजाति पत्रकारका समस्याप्रति फोनिज संवेदनशील रहेको र समस्या समाधानका लागि पहल भइरहेको जानकारी समेत दिनुभयो । बैठकको सहजीकरण फोनिज, गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो ।laphakhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार