मंगला गाउँपालिकाको बजेट साढे ३९ करोड(तस्बिर)

बेनी ,बुधबार असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।

अध्यक्ष रोकाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २१ करोड ३४ लाख ४० हजार र पुँजीगततर्फ १७ करोड आठलाख ८५ हजार पाँचसय ६० रुपैयाँ रहेको उल्लेख गरिएको छ । प्रस्तुत बजेटमध्ये पूर्वाधारतर्फ सात करोड ८९ लाख २० हजार पाँचसय ६० रुपैयाँ छुट्याइएको छ भने सामाजिक विकासतर्फ दुई करोड ६० लाख ६० हजार विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ६९ लाख २५ हजार रुपैयाँ रकम विनियोजन गरिएकोमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ९७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसैगरी संघीय सरकारबाट हस्तान्तरित रकम सशर्ततर्फ १८ करोड १२ लाख रुपैयाँ रहेको छ भने विशेष अनुदान सशर्ततर्फ प्रदेशबाट दुई करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । त्यस्तै समपुरक अनुदान संघीय सरकारबाट एक करोड ६७ लाख रुपैयाँ रहेको जनाइएको छ । यसअघि गाउँपालिका अध्यक्ष रोकाले १५ पेज लामो १ सयवटा विभिन्न शीर्षकहरुसहितको नीति तथा कार्यक्रमको बुँदाहरु प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा पालिकामार्फत कृषि, पर्यटन, पशुपालन र फलफुललगायत क्षेत्रलाई जोड दिइएको बताएका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमाएका विपन्न परिवारलाई लक्षित गरेर स्वास्थ्य शिक्षा सिप विकास तालिमसहित रोजगारी एवं आयआर्जनका लागि एक वडा एक कृषि÷पशु पकेट क्षेत्र निर्धारण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कोभिड–१९ कारण सबै क्षेत्रमा प्रत्यक्ष असर परेको हुँदा मंगलाले आगामी आर्थिक वर्षमा करको दायरा चालु आर्थिक वर्षकै दरलाई यथावत राख्ने नीति तथा कार्यक्रम बनाएको छ । त्यसैगरी भोकमरी अन्त्यका गर्नका लागि गाउँपालिकास्तरीय खाद्य बैंक स्थापना गरी एकद्वार प्रणालीमार्फत खाद्यपदार्थमा पहुँच नपुग्ने नागरिकलाई खाद्य उपलब्धताको सुनिश्चित गरिने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रोकाले स्थानीय विकास प्रक्रियालाई वातावरणमैत्री र दीगो विकासको अवधारणाअनुसार स्थानीयको सहभागितामा गाउँपालिकाको दीगो तथा एकीकृत विकास योजना तयार पारी कार्यान्वयन गर्न दैवी प्रकोप तथा विपद् व्यवस्थापन कोष स्थापना गर्ने बताए । उनले गाउँपालिकाअन्तर्गत विद्युतीकरण हुन बाँकी रहेको ग्रामीण क्षेत्रमा प्रदेश र संघको सहयोगमा बिजुली बत्ती बालेर ‘उज्यालो गाउँपालिका’ घोषणा गर्नका लागि आवश्यक पहल गरिने जानकारी दिएका छन् । यसका साथै पालिकाले आउँदो वर्षमा कृषियोग्य भुमिको अधिकतम प्रयोग गरेर उत्पादन बढाउने तथा सडक नपुगेका गाउँवस्तीमा सडकको सञ्जाल पु¥याइने जस्ता योजनालाई नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार