मालिका गाउँपालिकाको छैठौं गाउँसभाबाट निति तथा कार्यक्रम पारित

बेनी ,आइतबार असार ०७ गते ।
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि उत्पादन ,पुर्वाधार निर्माण तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

‘कृषि उत्पादन ,पुर्वाधार निर्माण तथा स्वास्थ्य लगायत क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिएको छ,’ अध्यक्ष रोका मगरले भन्नुभयो । अध्यक्ष रोका मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको आगामी बर्षको निति तथा कार्यक्रममा कोरोना भाइरस रोग (कोभिड–१९)का कारण समस्यालाई मध्यनजर गरी कृषियोग्य जमिनको सदुपयोग गर्ने भूमी बैंकको स्थापना, अनुदान, यूवा, महिला र लक्षित समुह केन्द्रित गदैं विकास निर्माण, शिक्षा, रोजगारी र आर्थिक उर्पाजन लगायतलाई समेटिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो ।

गाउँपालिकाले यसअघिका गौरबका आयोजनालाई निरन्तरता दिने भएको छ । गौरबका आयोजना अन्तर्गत निस्कोट देखी बागलुङ्गको ताराखोलासम्म सडक विस्तार , निस्कोट देखी मंगला गाउँपालिकाको टिकाबाङ्ग जोड्ने सडक निर्माण ,जेमदेखी पर्यटकीय स्थल दुरुलेकसम्म तथा जेम देखी पात्लेसम्म सडक विस्तार गर्ने अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

पर्यटन पवद्र्धनका लागि वडा नं ५ हक्लाङ्ग डाडाँ र वडा नं २ रुमको दुरुलेकमा बुद्ध भगवानको मुर्ती निर्माण गर्ने ,देविस्थानको मालिका र मालिका धुरीमा पनि विभिन्न देवीदेवताका मुर्ती बनाउने । वडा नं १ निस्कोटदेखी वडा नं ५ देविस्थानको हक्लाङ्ग डाडाँ जोड्न् झोलुङ्गे पुल निर्माणका लागि भौगोलिक सम्भाव्यताको अध्ययन गर्ने ।

वडा नं ७ बिम स्थित किसानी माविमा गाउँपालिका भित्रका विद्यार्थीलाई ५० प्रतिशत छुट र अन्य ठाउँबाट आउने गरिब विपन्न तथा दलित विद्यार्थीहरुका लागि कोता निर्धारण गर्ने जनाएको छ । भने गाउँपालिकाभित्रका सबै विद्यालयमा स्मार्ट एप्स जडान गरी गाउँपालिकाबाट गतिविधि अवलोकन तथा निरिक्षण गर्ने । वडा नं २ रुमलाई टिमुर खेती पकेट क्षेत्र ,बिम र देविस्थानको ताम्लाइ सुन्तला पकेट क्षेत्र बनाई उत्पादन बृद्धि गर्ने । वडा नं ६ दरबाङ्ग बजार क्षेत्रमा ५०० मिटर सडक कालोपत्रे गर्ने ।

गाउँपालिका भित्र रहेका स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीमा रुपान्तरण गर्ने र दुर्गम बस्तीमा स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने । प्रदेश र केन्द्रसंग समन्वय गरेर एक घर एक धारा लागु गर्ने । वडा नं ६ स्थित निर्माणधिन छ्यारछ्यारे खेलमैदानलाई प्रदेशस्तरीय बनाउने । गाउँपालिकाभित्र केन्द्रीय विद्युतको पहुँच नपुगेका ४० प्रतिशत घरधुरीमा विद्युतीकरण विस्तार गरेर आगामी आर्थिक बर्ष भित्रमा उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ ।

बस्ती संरक्षणका लागि ओखरबोट ,अधिभारा ,खोप्ती ,दरबाङ्ग ,साउता ,फुलबारी ,घोर्सी लगायत बस्तीहरुमा तटबन्ध निर्माण गर्ने ।आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्ने जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । गाउँपालिका भित्रका ७ वटै वडाका अध्यक्षले फजुल खर्च घटाउने, विकास–निर्माणमा जनसहभागिता, रोजगारमुलक कार्यक्रममा बाहिरबाट जनशक्ती ल्याउने कार्यलाई निरुत्साहित गर्ने, कृषि उत्पादनको बजारीकरणमा गाउँपालिकाले सघाउने, अनुदानलाई आवश्यकतामा केन्द्रित गर्ने,आर्थिक गतिविधि बढाउने,उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, आन्तरिक रोजगार केन्द्रित गर्ने, गौरवका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेको प्रवक्ता पुनले बताउनुभयो ।

कोभिड–१९ का कारण रोजगारी गुमेर धमाधम गाउँ फर्किने यूवाहरूलाई कृषि, पशुपालन लगायतका योजनाहरूमा जोड्ने, महिलालाई उद्यमशिलता तालिम, मोटरबाटो विस्तार गरिएका क्षेत्रमा बृक्षारोपण, आन्तरिक रुपमै आत्मनिर्भर कृषि, पशुपालन लगायतलाई प्राथमिकता दिएको उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । आगामी असार १० गते भित्रमा निति तथा कार्यक्रममा केन्द्रित भएर बजेट प्रस्तुत गर्ने प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार