म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

बेनी ,आइतबार असार १४ गते ।
म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार जना आईसोलेसनबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेमा बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर्षीय पुरुष, मालिका गाउँपालिका–३,का ३० वर्षीय पुरुष, मंगला–५, अर्मनका २० वर्षीय पुरुष तथा रघुगंगा–२, राखुभगवतीको ३० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । तीमध्ये मालिका–३, रुमका ३० वर्षीय युवा दुबई र अरु तीनजना गत जेठ महिनामा ईन्डियाबाट म्याग्दी आएका थिए ।

यसैबीच पछिल्लो तथ्याङ्कअनुसार आइतबार म्याग्दीका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कुबेतबाट गएको असार ३ गते म्याग्दी आएकी धवलागिरी गाउँपालिका–६, मराङकी ४० वर्षीया र ओमानबाट आएकी बेनी नगरपालिका–३, भकिम्लीको ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

म्याग्दीबाट हालसम्म २ सय ८६ ओटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा २ सय ८२ ओटाको नतिजा आइसकेको छ भने चारवटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये २ सय ६२ ओटा रिपोर्ट नेगेटिभ आएकोमा संक्रमित व्यक्तिको दोस्रो, तेस्रो नमुनासहित २० वटा रिपोर्ट पोजिटिभ आएको हो ।

जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेकोमा ११ जना पुरुष र ५ जना महिला रहेका छन् । अहिले आइसोलेसनमा १० जना रहेकोमा ६ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार