मंगला गाउँपालिकाको ४० करोड बढीको बजेट पारित,दुई गाउँपालिकालाई सहयोग गर्ने

बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो ।

file photo

संघिय सरकारको सर्सत अनुदान १८ करोड १२ लाख,समानीकरण ८ करोड २ लाख, समपुरक अनुदान १ करोड ६७ लाख र राजश्व बाँडफाँड ५ करोड ९९ लाख ३ हजार ५ सय ६० रुपियाँको बजेट सिलिङ प्राप्त भएको लेखापाल लेखनाथ अधिकारीले जानकारी दिनुभयो । यसैगरी संघिय सरकारबाट विशेष अनुदानका रुपमा एक करोड ६०लाख रुपियाँ प्राप्त भएको छ । एक करोड चालु आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी रहेको बजेटलाई समाबेश गरिएको छ ।

यसैगरी प्रदेश समानीकरण एक करोड २० लाख ६१ हजार, राजश्व बाँडफाँड ३२ लाख ११ हजार र आन्तरिक आम्दानी ५६ लाख ५० हजार अनुमानित गरिएको उहाँले बताउनुभयो । कृषिको संभावना रहेको मंगलाले कृषि उत्पादनलाई जोड दिएर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । कोरोना रोकथामका साथै कृषि उत्पादन वृद्धि,ग्रामिण सडकको स्तरउन्नती,पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

अल्याबाट थपिएको एक करोड मध्यबाट पुलचोक–पिपलबोट–पाखु–धारा सडकलाई १५ लाख, ताराखेत–भरजुला–सल्यान–भरजुला–थाइवाङ–हिदी सडकलाई थप १५ लाख, मंगला शिक्षा क्याम्पसलाई थप २० लाख, सिम–कोत्रवाङ–कुहुँ–पुर्णगाउ–टोड्के सडकलाई थप १५ लाख, विपद् व्यवस्थापन सामग्री खरिदमा तीस लाख र छ लाख रुपैयाँ सार्वजनिक निर्माणमा गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

यसैगरी धवलागिरी र मालिका गाउपालिकाका पहिरो पीडितका लागि दुई लाख रुपैया उपलब्ध गराउने निर्णय भएको छ । अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिका पदाधीकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सिम–कुहँु सडक आयोजनाका एकजित रोका, बाबियाचौर ढल निर्माणका बिरेन्द्र खड्का, पोक–सातबिसे–तोरीडाडा–खस्रुपानी सडकका बलराम सापकोटा, धापुङको रस्टिक स्टोरका वुद्धी पुन, भेङ्गा सकेल खानेपानी आयोजनाका अध्यक्ष नुमाया किसान र साउनेपानी–जुरेढुङ्गा सडकका नरबहादुर छन्त्याललाई सम्मान गरिएको हो ।

गाउसभा समापन गर्दै अध्यक्ष रोका, उपाध्यक्ष सिर्जना केसी र प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बजेट कार्यान्यनमा समयमै जुटन जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुरोध गर्नुभयो । कोरोना भाइरसका कारण बजेट कार्यान्वयनमा चुनौती थपिए पनि सुरक्षाका उपायहरु अपनाउँदै नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै गाउँपालिका बजेट कार्यान्वयनमा जुट्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार