कादुरी संस्थाले बनायो खिबाङमा एक घर एक धारा

अमित बिश्वकर्मा
बेनी ,सोमबार असार २२ गते ।

म्याग्दीको धौलागिरी गाउँपालीका–४ खिबाङ्गमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । कादुरी संस्था पोखराको ७० लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राबिधिक सहयोग र स्थानीयको ११ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट ११८ वटा धारा निर्माण गरिएको हो ।

खिबाङ्ग, गोवाङ्ग र कमनधारा बस्तीमा ११५ वटा धारा निर्माण गरिएको छ । त्यसैगरि चन्द्रज्योती मावी, चन्द्रज्योती बालबिकास केन्द्र र खिबाङ्ग सामुदायिक स्वास्थ्य इकाईमा ३ वटा बिशेष खालका धारा निर्माण गरिएको खिबाङ्ग एक घर एक धारा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्तिले जानकारी दिनुभयो । गाउँबाट १ घण्टाको दुरीमा रहेको मुलबाट पानी ल्याइएको र ठाउँठाउँमा ट्यांकी पनि निर्माण गरिएको अध्यक्ष घर्तीले बताउनुभयो ।

खिबाङ्गमा खानेपानीको चरम समस्या हुन थालेपछि आफु गाउँपालीकाको अध्यक्ष नहुँदै २०७३ सालमा आबश्यक प्रक्रिया पुरा गरि कादुरी संस्थामा प्रस्तावना पेश गरेको धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । ब्रिटिस आर्मी स्वर्गीय जीत बहादुर पुनलाइ स्पोन्सर बनाएर ब्रिटिस वेलफेयर पोखराको समन्वयमा कादुरी संस्थामा पेश गरेको उक्त प्रस्तावना करिब ४ बर्षमा स्वीकृत भइ गत फागुन देखि सो योजनाको काम सुरु भएको अध्यक्ष पुनको भनाइ छ । ‘मेरो स्वर्गीय दाजुलाइ स्पोन्सर बनाएर पेश गरेको योजनाले आज पुर्णता पाएको छ,’ अध्यक्ष पुनले भन्नुभयो, ‘दाजुको भौतिक शरिरले यी धाराहरु छुन नपाएपनि उहाँको पबित्र आत्माले अबश्य शान्ती पाउनेछ ।’

कादुरीले निर्धारीत समयमै काम सम्पन्न गरि सो योजना गाउँपालीकालाइ हस्तान्तरण गरेको छ । प्राकृतिक प्रकोपका कारण मुहान तथा ट्यांकीहरुमा ठुलै क्षति पु¥याएमा ५ बर्ष सम्म कादुरी संस्थालेनै मर्मतमा सहयोग गर्ने ब्यवस्था रहेको र त्यस बाहेकका मध्यमखालका मर्मत सम्भार कार्यमा गाउँपालीकाले सहयोग गर्ने गाउँपालीकाका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार पानीको मुहान संरक्षण र धारालाइ टिकाइ राख्नका लागि पनि गाउँपालीकाले निरन्तर निगरानी राख्ने छ । यस अघि कुवा र खोल्सा खोल्सीका मुलको पानी उपभोग गर्दै आएका स्थानीहरु घरमै धारा निर्माण भएपछि निकै खुसी भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार