धार्मिक तथा पर्यटकीय स्थल ‘मालिका’ जाने पदमार्ग निर्माण

बेनी ,विहिबार असार २५ गते ।
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीर जाने पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत सो पदमार्ग निर्माण गरिएको हो । प्रदेश सरकारको चालीस लाख रुपैयाँ लागतमा स्थानीय उपभोक्ता समिति मार्फत १२ सय ७१ मिटर पदमार्ग निर्माण गरिएको सहायक भु संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार सिडि,सोलिङ्ग तथा खनेर १२ सय ७१ मिटर निर्माण गरिएको पदमार्गका दुई स्थानमा चौतारी निर्माण गरिएको छ ।

नयाँ पदमार्ग निर्माण संगै प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिर दर्शन तथा पुजाआजा गर्न जाने दर्शनार्थीहरुलाई सहज हुने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । दर्शनार्थीहरुलाई लक्षित गरेर मालिका मन्दिर परिसरमा पुर्वाधार निर्माण गर्नुका साथै गत बर्ष गाउँपालिकाबाट विनियोजित ३० लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रोका मगरले बताउनुभयो । उहाँका अनुसार थप सडक विस्तार तथा स्तरोन्नती निर्माण गर्न गाउँपालिकाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस अघि गाउँपालिकाले मालिका मन्दिर परिसरमा १५ लाख रुपैयाँको लागतमा पुर्वाधार निर्माण गरेको छ ।

‘मालिका मन्दिर जाने पहिलेको पैदल मार्ग अप्थ्यारो भएकाले दर्शनार्थीहरुले जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो ,अहिले नयाँ पदमार्ग निर्माण संगै मालिका मन्दिर जाने दर्शनार्थीहरुलाई सहज हुने विश्वास लिएको छु ,’–अध्यक्ष रोका मगरले भन्नुभयो ,‘टाढाबाट आउने दर्शनार्थीहरुलाई लक्षित गरी गाउँपालिकाले मालिका मन्दिर परिसरमा पुर्वाधार निर्माण संगै सडक विस्तार थालेको छ ।’

मालिका धुरी धार्मिक स्थिल संगै पर्यटकीय क्षेत्र भएकाले पर्वद्धनका लागि थप भौतिक पुर्वाधार निर्माण गर्न प्रदेश र संघिय सरकारसंग आवश्यक समन्वय तथा पहल थालिएको गाउँपालिकाका अध्यक्ष रोका मगरको भनाई छ । पदमार्ग निर्माणले मालिका मन्दिरमा पुजा गर्न जाने दर्शनार्थी तथा पर्यटकहरुलाई थप सहज हुने गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले विश्वास व्यक्त गर्नुभयो । भिरालो पहाडको टुप्पोमा अवस्थित मालिका धुरी म्याग्दीको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित छ ।

फाइल तस्बिर

मालिकाको वडा नं ६ दरबाङ, ७ विम र रघुगंगा गाउँपालिकाको वडा नं ६ पाखापानीको सिमानामा रहेको मालिकामा विशेष गरी बैशाखको चण्डीपूर्णिमा, ज्यष्ठीपूर्णिमा, कात्तिके पूर्णिमा र बालाचतुर्दशीमा विशेष पुजा आजासहित मेला लाग्ने गर्दछ । मालिकाको पुजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार