काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरेसम्म कोरोना नियन्त्रणमा नआउने निष्कर्ष तत्काल नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी

काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने निष्कर्ष निकालेको छ । फोरमका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । सुरुदेखि नै फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।
आइतबारमात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेको फोरमले सो क्रममा पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नुपर्ने आवाज उठाएको थियो ।

शाक्यका अनुसार उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने आवश्यक छ । उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका सिल गर्नुपर्ने उनको भनाइ छ ।

शाक्यले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने चेतावनी दिए । उनले भने, ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना बस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’

उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए । उनले भने, ‘लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन । नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको हो । एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन् । केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।’

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए । उनले भने, ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन । हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाइ गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहाँ लुकिछिपी आउने प्रवृति रहयो ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराजिका कारण जोखिम बढेको बताए । उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे ।

उनले भने, ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं । धर्मशालाहरु बन्द गरेका छौं । विहारहरु बन्द गरेका छौं । मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं । त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ । यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ । यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ ।’
उनले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताए । पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मेरो भनाई के हो भने पीसीआर औषधि होइन । पीसीआर भनेको परीक्षण मात्रै हो । परीक्षणले आजको स्थिति मात्रै जनाउँछ त्यसले औषधिको काम गर्दैन । एकपटक पीसीआर परीक्षण गरेपछि फेरि समुदायमा जाँदा त्यसले फेरि संक्रमण फैलिन्न भन्न सकिदैन । मैले आज पनि डाटा लिएको छु थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ, कति त पीसीआर नगरीकन छिरेका छन् । १० हजार मान्छेको पीसीआर गराउँदाखेरी त्यसको खर्च कति होला । हामीले डिफेन्सीभ होइन अफेन्सीभ ढंगले जानुपर्छ । हामीले रोगलागेपछि उपचार गर्नुपर्छ भन्दापनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ । अनि पीसीआर बढाऔं, हुलमुल नगरौं, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने अनि त्यहाँ सबै क्याटवाल्क गराएर फेसन शो गराएर पत्रकारलाई भेला गराउँदा त्यहाँ रोग फैलने सम्भावना हुँदैन ।’

सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गरे । मापदण्ड र नियमलाई मालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताए ।

नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने उनले बताए । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको पनि बताए ।

संक्रमण देखिएका ठाउँलाई मात्रै सिल गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र सिल गर्ने भएकाले यो क्षणिक हुने उनले बताए । संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उनले बताए ।
काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले दावी गरे । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार