ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

भक्त रोका
लण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका र विस्थापित भएका पीडित परिवारलाई करिब एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

म्याग्दीका विभिन्न ठाउँका बाढी पहिरो पीडितका लागि मोना युके मार्फत दुई सय दश पाउण्ड ,तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं.८ भैसिकिलेमा अबिरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका अम्ब ब। थापाको परिवारलाई दुई सय दश पाउण्ड ,असार १८ मा गुल्मीको इस्मा र जुकेपानीमा गएको पहिरोका कारण विस्थापित परिवारका लागि दुई सय दश पाउण्ड गरी ६३० पाउण्ड सहयोग गरिएको ग्रीनविच भलिबल परिवारका अध्यक्ष रबिन्द्र रोका मगरले बताउनुभयो । तनहुँको ऋषिङ्ग गाउँपालिका–८ मा पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो ।

म्याग्दी, जिल्लाको मंगला गाउँपालिका–३ घर भई हाल पलमस्तिड लण्डन, युकेमा बस्दै आउनुभएका रबिन्द्र रोका मगरले युकेमा ग्रीनविच भलिबल परिवार स्थापना गरी भलिबल प्रतियोगिताको सुरुवात गर्नुभएको थियो । ठुला–ठुला प्रतियोगिता समेत संचालन गरेको ग्रीनविच भलिबल परिवार युकेमा लोकप्रिय छ । रबिन्द्र नेपालका क्षेत्रीय भलिबल खेलाडी समेत हुनुहुन्छ ।

विदेशमा रहेका नेपालीहरुविच एक आपसमा भाइचाराको सम्बन्ध विस्तार गर्न प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई छ । भलिबल प्रतियोगिताप्रति नयाँ युवा पुष्ताको आकर्षण बढ्ढो रहेको नेपालका क्षेत्रीय खेलाडी समेत रहनुभएका रोका मगरले बताउनुभयो । वडा अध्यक्ष कबिन्द्र रोका मगरका छोरा समेत रहनुभएका रबिन्द्र विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ।

उहाँले खेलकुद क्षेत्रमा मात्र नभई ग्रीनविच भलिबल परिवारले नेपालमा आउने विभिन्न खालका विपदको समयमा सघाउँदै आइरहेको बताउनुभयो । उहाँले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

‘खेलकुद क्षेत्रको विकास संगै नेपालमा आउने विभिन्न खाले विपदको समयमा पनि हामीले आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आइरहेका छौं’,अध्यक्ष रोका मगरले भन्नुभयो । ‘नेपालका विभिन्न ठाउँमा गएको पहिरो प्रभावित क्षेत्रका पीडित परिवारका लागि सबैलाई सहयोग गर्न अपिल समेत गर्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार