फोनिजको २१ औं स्थापना दिवस : २०–२० लाख रुपैयाँको दुई अक्षयकोष घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गरेका हुन् ।

फोनिजले ‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ९फोनिज अवार्ड० अक्षयकोष’ र ‘आदिबासी जनजाति पत्रकार सहयोग अक्षयकोष’ घोषणा गरेको हो । दुवै कोषमा हाल १०–१० लाख रुपैयाँ राखेर कोषको घोषणा गरिएको हो । दुवै कोषमा २०–२० लाख रुपियाँ पुर्याउने फोनिजको लक्ष्य छ । कोषमा सहयोगका लागि फोनिज केन्द्रले सबैमा आव्हान गरेको छ ।

फोनिजले आफ्नो २१औं स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको छ । कोरोना संक्रमणका कारण मुलुक नै ठप्प रहेका बेला फोनिजले भर्चुअल माध्यमबाट स्थापना दिवस मनाएको हो । कार्यक्रममा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले कोष वृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।उनले जो जहाँ रहे पनि आदिबासी हितका लागि प्रतिवद्ध भएर काम गर्नुपर्ने बताए ।

साामजिक अभियन्ता र राजनीतिकर्मीबीच बुझाईमा दूरी रहेको बताउँदै उपाध्यक्ष घर्तीले आदिबासी हक अधिकारको सम्बोधन र त्यसको संस्थागत विकासका लागि पनि राजनीतिकर्मी र सामाजिक अभियन्ताबीच फ्यूजन अपरिहार्य रहेको बताए । संविधानमा गरेको व्यवस्थालाई कार्यान्वयन गरी थप अधिकारका लागि एकतावद्ध भएर राज्यलाई दवाव दिनुपर्ने उनले बताए ।

फोनिजका सल्लाहकार खिम घलेले सरकार आदिबासी अधिकारप्रति उदासिन रहेको बताउँदै प्राप्त भएको अधिकार समेत कटौती गर्नमा लागेको टिप्पणी गरे । आदिबासी जनजातिको अधिकारको उठान गर्ने र सम्बोधनमा दवाव दिने काममा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको उनले बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले अहिलेको विशम परिस्थितिमा पत्रकारहरु जोखिम मोलेर फ्रन्ट साइडमा रहेर भूमिका निर्वाह गरेपनि राज्यले राहत प्याकेज घोषणा नगर्नु विडम्बनापूर्ण रहेको बताए । उनले उद्यमी व्यवसायीलाई मात्र होइन, श्रमजीवी पत्रकारलाई समेत सहुलियत व्याजदरमा बैंकले ऋण दिने व्यवस्था गर्नुपर्ने बताए ।

कोरोना कहरका बेला पत्रकार र मिडिया टिकाउन राज्यले राहत प्याकेज घोषणा गर्नुपर्ने उनको भनाइ छ । समानुपातिक विज्ञापन अझसम्म लागू गर्न नसकेको भन्दै उनले तत्काल लागु गर्न माग गरे । फोनिज स्थापना र यसलाई अगाडि बढाउनमा सहयोग गर्नुहुने अग्रज सबैप्रति उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजुरधन राईले स्वागत मन्तव्य राखेका थिए भने मनोज घर्तीमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा जुममार्फत सहभागिता हुने व्यवस्था मिलाइएको थियो । स्थापना दिवसको अवसरमा फोनिजले सबै शाखाहरुलाई सहयोग रकम समेत पठाइसकेको छ ।

फोनिजको अहिले देशभर ८ संस्थागत सदस्य संगठन, ५६ जिल्लामा शाखा, सात प्रदेशमा प्रदेश कमिटी र ६ मुलुकमा विदेशमा शाखा रहेको छ । फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार