राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई

गोरखा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए ।

‘यस्ता नेता छानेका छौं, जुन नेताहरु कोरोनाको बेला आफ्नो पार्टीको झगडाका निम्ति महिनौं बैठक गर्नुहुन्छ,’ उनले भने, ‘समाचार हेर्नुभयो भने मान्नुस् केपी ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सि जिनपिङको वार्ता भएजस्तो हो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो हो, उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

अहिलेको प्राथमिकता पीसीआर परीक्षणको दायरा बढाउने र अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्नेतर्फ हुनुपर्ने भट्टराइले बताए । तर, सरकार उल्टो दिशातर्फ गएको उनको आरोप छ । ‘अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला राम मन्दिर बनाउने रे,’ उनले भने, ‘यो अयोध्या सिर्जना गर्ने बेला हो कि अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’ चार महिनाको बन्दाबन्दीमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा सरकार चुकेको उनको आरोप छ ।

स्पष्ट नीति बिना सरकार चलिरहेको उनले बताए । ‘नेकपालाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएकाले उसले नै व्यवस्थापन गरोस् भन्ने थियो तर अहिले जुन ढंगले सरकार विहीनताको अवस्थामा देश छ, यो नेकपाको आन्तरिक मामिला मात्र नभएर नेपाली जनताको पनि चासोको विषय बनेको छ,’ उनले भने, ‘केपी ओलीजस्तो गैरजिम्मेवार मान्छे सरकारको नेतृत्वमा छन्, देश लहडमा भरमा चलेको छ, स्पष्ट नीति छैन, परराष्ट्र होस्, जनस्वास्थ्य होस् वा आर्थिक होस् श्रृङखलाबद्व सोच विचारको नीति कुनै पनि छैन । यस्तो मान्छे नेतृत्वमा रहँदासम्म देशले दुखमात्र पाउँछ ।’

राम मन्दिरको कुरा छाडेर कोरोना नियन्त्रणमा लाग्न उनले सरकारलाई सुझाव दिए । स्रोत साधनको जोहोगरि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । ‘राज्यले गर्ने भनेको भरपर्दो परीक्षण हो, परीक्षण व्यापक रुपमा गराउनुपर्‍यो,’ उनले भने, ‘उपचारका निम्ति उपकरण हुनुपर्‍यो, भेन्टिलेटर नहुँदा मान्छे मरिरहेका छन् यसतर्फ ध्यान दिनुपर्‍यो ।’ ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार