आयात कम हुँदा राजस्व संकलनमा गिरावट

कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चिएसँगै आयातमा कमी आउँदा राजस्व संकलनमा समेत उलेख्य गिरावट आएको छ । कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात कम हुँदा राजस्वमा कमी आएको हो ।

चालू आर्थिक वर्षको भदौ महिनासम्म राजस्व संकलन ४५ अर्ब ७८ करोड १० लाख ९० हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा राजस्व संकलन ६० अर्ब ३४ करोड २३ लाख २० हजार रुपैयाँ थियो । आयात कम हुँदा अघिल्लो वर्षको तुलनामा १५ अर्ब रुपैयाँ राजस्व संकलनमा कमी आएको देखिन्छ । गत साउन महिनामा २१ अर्ब ८७ करोड ६० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । साउन महिनाको तुलनामा भदौ महिना भने राजस्व संकलन बढेको छ । सामान्य अवस्थामा दैनिक २ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुँदै आएकोमा कोरोना भाइरसले आयात कम हुँदा राजस्वमा समेत कमी भएको भन्सार विभागको भनाइ छ । मुलुकमा सवैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थको खपतमा कमी आउँदा आयात न्यून भएको छ र यसले राजस्वमा समेत उल्लेख्य कमी आएको विभागको तथ्यांक छ ।

मुुलुकमा सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारी साधनका पार्टपुर्जा, सुन लगायतका अन्य सामानको आयात कम हुँदा राजस्व संकलनमा कमी आएको छ । चालू आर्थिक वर्षको भदौ महिनामा मुलुकबाट २० अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि खुम्चिएको छ । २०७६(७७ को पहिलो दुई महिनामा वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्यांक छ । ०७७(७८ को दुई महिनामा वैदेशिक व्यापार १९ दशमलब ६४ प्रतिशतले खुम्चिएर १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको भन्सार विभागको तथ्याङक छ ।

आयात पनि २२ प्रतिशत घटेर १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । दुई महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएको थियो । निर्यात भने साढे १० प्रतिशतले बढेको विभागको तथ्यांक छ । दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा १८ अर्ब ५० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । व्यापारघाटामा करिब २५ प्रतिशतले कमी आएको छ । दुई महिनामा निर्यात बढेको छ, आयात घटेको छ । सवैभन्दा धेरै व्यापार हुने छिमेकी मुलुकबाटै आयातमा कमी आएको छ ।

भारतबाट दुई महिना अवधिमा १ खर्ब १९ अर्ब ६३ करोड ३३ लाख ५४हजार रुपैयाँको आयात भएको छ भने ११ अर्ब ४२ करोड ८९ लाख १५ हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब २३ करोड २७ लाख ५७ हजार रुपैयाँको आयात भएकोमा निर्यात भने १२ अर्ब १५ करोड २३ लाख ३२ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस्तै चीनबाट दुई महिनामा २४ अर्ब ३१ करोड ३६ लाख ३९ हजार रुपैयाँको आयात भएकोमा निर्यात भने १६ करोड ७१ लाख १९ हजारको रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा ४० अर्ब ५६ करोड ३७ लाख ३४ हजारको आयात भएकोमा २८ करोड ४२ लाख ९ हजार रुपैयााको निर्यात भएको थियो । यो वर्ष कोरोना भाइरसको कारणले आयात र निर्यातमा कमी आएको छ ।karobardailyबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार