आर्सनलका गोलकिपर भिल्लामा

लन्डन । प्रिमियर लिगको क्लब एस्टन भिल्लाले आर्सनलका गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्धित गर्ने भएको छ।

बुधबार एस्टन भिल्लाले मार्टिनेजलाई २६ मिलियन डलरमा अनुबन्धित गर्ने घोषणा गरेको हो। अर्जेन्टिनाका २८ वर्षे गोलकिपरले एस्टन भिल्लाका लागि चारवर्षे सम्झौता गरेका हुन्। उनी सम्मिलित आर्सनलले यसअघि एफए कप र कम्युनिटी शिल्ड उचाल्न सफल भएको थियो।

एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथले गोलकिपरलाई अनुबन्धित गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए। ‘नयाँ गोलकिपरलाई टोलीको सदस्य बनाउन पाउँदा हामी निकै खुसी छौं। आर्सनलले उनलाई राम्रो स्थान दिएको थियो। र पछिल्लो खेलमा उनको प्रदर्शनबाट आर्सनलले धेरै राम्रो नतिजा निकालेको छ,’ एस्टन भिल्लाका प्रशिक्षक स्मिथले भने, ‘उनले पाएका अवसरलाई शतप्रतिशत प्रयास दिन्छन्। उनी कलिलै उमेरमा चर्चा पाउने थौरैमध्येका एक खेलाडी हुन्।’

मार्टिनेजले १० वर्ष आर्सनलमा बिताएका छन्। यसअघि म्याटी क्यास र ओल्ली वार्टकिनले एस्टन भिल्ला भ्रमण गरेका थिए। यसअघि २०१० मा मार्टिनेजले पहिलो पटक आर्सनलमा हस्ताक्षर गरेका थिए। आर्सनलमा रहँदा उनले ३९ खेल खेलेका छन् भने ६ क्लबमा लोनमा बिताएका छन्।

‘धन्यवाद सबै समर्थक र करियरमा सहयोग गर्नेलाई,’ मार्टिनेजले भने, ‘आर्सनलमा स्थान दिनुभएका सबैलाई धन्यवाद र क्लबमा रहँदा धेरै समय लोनमा बिताएँ।’ उनले थपे, ‘क्लबमा रहँदा धेरै सफलता हात लागे। त्यसका लागि म टिमप्रति आभारी छु।’

यस्तै स्पेनिस क्लब एइबरले प्रिमियर लिगको क्लब न्युक्यासलका जापानी योसिनोरी मुतोलाई लोनमा भित्र्याएको छ। क्लबले बुधबार यसको घोषणा गरेको हो।

‘एइबर र न्युक्यासल जापानका मुतोलाई अनुबन्धित गर्न सहमत भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘लोनमा भित्रिएका फरवार्ड मुतोले १२ नम्बर जर्सी लगाउनेछन्। आउँदो साता मात्र टोलीसँग अभ्यास गर्नेछन्।’

२८ वर्षका मुतोले न्युक्यासलमा रहँदा ३ गोल गरेका छन्। उनी २०१८ देखि न्युक्यासलमा आबद्ध थिए। उनी कलिलै उमेरमा अनुबन्धित भएका थिए। नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार