गण्डकी प्रदेशमा थप १ को मृत्यु, ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंबर.७ निवासी ७६ बर्षीया महिलामा मृत्यु भएपछि कोरोना पोजेटिभ देखिएको हो ।

शनिबार बेहोस अवस्थामा गोरखा अस्पतालमा ल्याएकी उनलाई ब्रेन हेमरेज भएको थियो । उनको आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । त्यसैगरी थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १३ जना, तनहुँ ७, बागलुङ ३ र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखराका २० र २३ बर्षका २ जना महिला पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत स्टाफ नर्स हुन् ।

त्यस्तै, लमजुङ वेसीसहरका २९ वर्षीय पुरुष र ३१ वर्षीया महिला गरी २ जना रियालन्स फाइनान्सका कर्मचारी हुन् भने अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद बिन्दु शर्माले जनाएका छन् ।

यसअघि शनिबार मात्र ४० जना संक्रमित थपिएका थिए । यो सहित गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार