चीनतर्फ पहिरो गएपछि रसुवागढी नाका बन्द

रसुवा । बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पहिरो पन्छाउन केही दिन लाग्ने देखिएको छ। ‘चिनियाँ पक्षले कति दिनमा पहिरो पन्छाउन सकिन्छ भनेर आधिकारिक धारणा सार्वजनिक गरेको छैन’, उनले भने, ‘सडक सञ्चालनमा आउन केही दिन लाग्न सक्छ।’कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गरेको छ भने निर्यातका लागि अनुमति नै दिएको छैन। चिनियाँ सामग्री समयमा नै ल्याउन नसक्दा अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री थन्किएको छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन्। मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ। अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार