डमी ट्राफिकमा हवल्दार र सिपाही आधा–आधा, २८ वटा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका चोकचोकमा डमी ट्राफिक उभिएको त तपाइँले देख्नुभएकै होला । तर के तपाइँलाई थाहा छ, सडकमा उभिएका डमी ट्राफिक पनि फरक–फरक दर्जाका छन् भनेर ? उपत्यकामा हालसम्म २२ वटा डमी ट्राफिक राखिएका छन् ।

त्यसमध्ये सबैजना हवल्दार र सिपाही दर्जाको भएको र त्यस्तो संख्या आधा÷आधा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताए । ‘सामान्यतया सडकमा खटिने भनेको सिपाही र हवल्दार सा’पहरु नै हुने भएकोले त्योभन्दा माथिको फूली लगाइएको छैन । दुईवटाको संख्या आधा–आधा छ,’ यादवले भने । ट्राफिक प्रहरी ड्युटीमा नहुने भएकोले रातको समयमा सडक प्रयोगकर्ताले ट्राफिक नियमको उल्लंघन नगरुन् भनेर यस्तो डमी सडकमा उभ्याइएको हो । दिउँसोको समयमा समेत सडक प्रयोगकर्ताको आँखा त्यसमा जाने भएकोले सार्वजनिक सूचना प्रभावकारी रहेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

२८ वटा थप्ने तयारी
ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाबीच सहमति भएर डमी ट्राफिक राख्ने सम्बन्धमा गृहकार्य अघि बढेको हो । सोही समयमा महानगर र महाशाखाबीच ५० वटा डमी राख्ने सहमति भएको थियो । पहिलो चरणमा २२ वटा राखिएकोमा अब २८ वटा थप गर्ने तयारी गरिएको एसपी यादवले बताए ।

एउटा डमी ट्राफिकको करिब १५ हजार रुपैंया लागत लागेको छ । त्यसमध्ये काठमाडौं महानगरपालिकाले डमीको खर्च व्यहोर्ने र ट्राफिकले ती डमीका लागि कपडाको व्यवस्थापन गर्ने सहमति भएको हो । यसअनुसार अधिकांश खर्च चाहिँ महानगरपालिकाकै हुने महाशाखाको भनाई छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार