नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

काठमाडौं ।नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी , कोरोना भाइरस (कोभिड–१९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार