बालबालिकालाई फकाएर सुनको मुन्द्रा लुट्ने संगीता र नक्कली सुन पसल खडा गरी त्यही सुन किन्ने मुरली पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र पुरूष पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त, बौद्धले म्याग्दी घर भई बालाजु बस्दै आएकी ३२ वर्षीया संगीता क्षेत्रीलाई र काभ्रे घर भई ललितपुरको सौगल बस्ने ३० वर्षीय मुरली विकलाई मंगलबार पक्राउ गरेको हो। संगीताले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा बालबालिकाको कानको मुन्द्रा लुट्ने गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार संगीताले बालबालिकाहरूको मुन्द्रा लुट्नुअघि चकलेट वा आइसक्रिम दिने गरेकी थिइन्। त्यस्तै आमाकी साथी हुँ भन्दै ललाई-फकाई, प्रलोभनमा पारी तथा डरत्रास देखाएर लुट्ने गरेकी थिइन्।

उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार संगीताले अहिलेसम्म २२ स्थानका बालबालिकाको मुन्द्रा लुटिसकेकी छन्। संगीताले कपन, कोटेश्वर, महांकाल, काँडाघारी, बालकुमारी, कपुरधारा, गल्कोपाखा, मनमैजुलगायत ठाउँबाट लुटेकी थिइन्। अहिले लुटिएका बालबालिकाका २० जना अभिभावक समन्वय गर्न बौद्धको वृत्तमा पुगेको परिसरले जनाएको छ। त्यस्तै, प्रहरीले लुटिएको सुन किन्ने व्यक्ति मुरालीलाई पनि पक्राउ गरेको हो।

प्रहरीका अनुसार मुरलीले संगीताले लुटेको सुन किन्ने गरेका थिए। मुरालीले ललितपुर महानगरपालिका-६ स्थित कनिबहालमा दर्ता नै नगरी सुन पसल सञ्चालन गरिरहेका थिए। उनले सस्तोमा सुन किनेर स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनले अरूबाट पनि लुटिएको सामान किन्ने गरेको प्रहरीले जनाएको छ। यसमा संलग्न अन्यको पनि खोजी भइरहेको छ। प्रहरीले उनीबाट ६२ लाल चुडिएको सुनको सिक्री, ६१ लाल गलेको सुन, ३० हजार ५ सय नगद र एक फोन बरामद गरेको परिसरले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार