मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा लामो भेटघाटका क्रममा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल भएको थियो।

‘दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेर पहिलोपटक लामो कुराकानी भएको हो, दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सहमत भए पनि केही नामबारे आज (बिहीबार) छलफल भएको छ,’ स्रोतले भन्यो। सो भेटघाटपछि दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि त्यसबारे छलफल गरेका थिए। ६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, १० दिनभित्र एकीकरणका बाँकी काम सम्पन्न गर्नेगरी गृहकार्यका लागि ओली र दाहाललाई जिम्मेवारी दिएको थियो। त्यसैअनुसार बिहीबार दुई अध्यक्षबीच कुराकानी भएको स्रोतको भनाइ छ। दुई अध्यक्षको भेटपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि राखेका थिए। शुक्रबारको कार्यसूचीमा रहेको मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बसेको थियो। ‘खासै कार्यसूची त थिएन,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद बैठक बोलाउनुभयो।’

असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मूलतः तीन विकल्पमा केन्द्रित रहेर छलफल भएको थियो। प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुनः समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा पुनर्गठन गर्ने विकल्पमा छलफल केन्द्रित भए पनि बैठकले त्यसबारे आवश्यकताअनुसार नेताहरूसँग थप छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो। त्यस्तै उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक जिम्मेवारी नदिई सांसद मनोनयन यथावत् राख्न दिएको आदेशका विषयमा समेत उनीहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ। नेकपा सचिवालय बैठकले गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा पार्टीले लड्ने निर्णय गरेको थियो।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार