खतिवडाले गरेका निर्णय धमाधम उल्टिँदै, बहिर्गमनको २ महिना नपुग्दै यी निर्णय उल्टिए

काठमाडौं । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी आलोचित यो निर्णय मन्त्रिपरिषदको बैठकले उल्ट्याइसकेको छ ।

विद्युतीय गाडीको भन्सार, अन्तशुल्क र कर ह्वात्तै बढाउने निर्णय बजेटअघि नै चुहिएपछि एक व्यापारिक घरानाले सरकारलाई करिब १ अर्ब राजश्व घाटा हुने गरी विद्युतीय गाडी स्वदेश भित्र्याएको विषयमा अर्थमन्त्री समेत जोडिन पुगेका थिए । तर उनले यस विषयमा संसदमा जवाफ पनि दिइसकेका छन् । बजेटअघि कुनै पनि सूचना चुहिने सम्भव नभएको उनको दाबी थियो ।

विद्युतीय गाडीको भन्सार, अन्तशुल्क र सडक कर बढाइएको थियो । यसअघि १० प्रतिशत रहेको विद्युतीय गाडीको भन्सार दरलाई बढाएर ४० प्रतिशत पुर्याइएको थियो भने अन्तशुल्कलाई ५० देखि ८० प्रतिशतसम्म बढाइएको थियो । त्यस्तै, सडक निर्माण करलाई पनि ४ प्रतिशतबाट बढाएर यो वर्ष ५ प्रतिशत पुर्याउने जस्ता निर्णयका कारण उनी इतिहासको सबैभन्दा बढी विवादित बने । यद्यपि, यो निर्णय अहिले उल्टिइसकेको छ ।

उनको अर्को निर्णय मदिरा आयातमा प्रतिबन्ध हो । तर हालैको मन्त्रिपरिषदको वैठकले खुला गरेको निर्णय सुनाइसकेको छ । गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले शोधानान्तरमा असर गर्न सक्ने भन्दै तयारी मदिरामा रोक लगाएको थियो । विशाल ग्रुपले चैतअघि नै ६ महिनालाई पुग्ने मदिरा आयात गरिसकेको र उसैको प्रलोभनमा परेर तत्कालीन अर्थमन्त्री डा।युवराज खतिवडाले आयातमा रोक लगाएको आरोप उनलाई लागेको थियो । लकडाउनका कारण क्रयशक्ति कमजोर भएको आंकलन गर्दै सोधानान्तरमा असर पर्ने र हानिकारक वस्तु नभित्र्याउन मन्त्रालयकै सल्लाहअनुसार रोकिएको अर्थमन्त्रालय सम्बद्ध स्रोत बताउँछ । तर अहिले खुला गर्नुको कारण भने स्पष्ट छैन ।

तेस्रो निर्णय ५० हजार डलरभन्दा बढीको गाडी आयातमा लागेको प्रतिबन्ध हो । यसलाई पनि मन्त्रिपरिषदको बैठकले फुकुवा गरिसकेको छ । तत्कालिन अर्थमन्त्री डा.खतिवडाले नै गरेको यो निर्णय उल्टिँदै फुकुवा भएको छ । कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले तत्काल ५० हजार अमेरिकी डलरभन्दा महङ्गो मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको थियो । तर अहिले ५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेकाले सवारी आयातमा लगाइएको बन्देज फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पष्ट पारिसकेका छन् ।

अर्थतन्त्रका ज्ञाता मानिएका खतिवडा उनको निर्णयका कारण उनीप्रतिको आम चाहना कम हुँदै गयो । र, उनी पार्टी भित्रैपनि व्यापक आलोचित बने र अन्नत पदमुक्त बने । यद्यपि, उनको कार्यकाल सकिएसँगै अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्माओलीले विशेष आर्थिक सल्लाहकारमा उनलाई नियुक्त गरेका थिए । कतिपयले उनलाई पर्दा बाहिरका अर्थमन्त्री समेत भन्न भ्याए ।

करिब दुई साताअघि डा.खतिवडालाई सरकारले अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । डा.खतिवडालाई मन्त्री सरह सेवा सुविधा प्रदान गर्ने गरी अमेरिकाको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । राजदूतमा सिफारिस भएपछि अहिले उनलाई संसदीय सुनुवाइ समितले १० दिने म्याद दिएर उनीविरुद्ध सार्वजनिक उजुरीको माग गरेको छ । उनी वाम गठबन्धनको सरकारमा साढे २ बर्ष अर्थमन्त्री बने । उनी लगातार तेस्रो पटक सम्म बजेट ल्याउन पाउने र आफुले बनाएको बजेट आफैले कार्यान्वयनमा लैजान पाउने भाग्यमानी अर्थमन्त्री पनि हुन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार