ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौँ । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ घर भएका नरेशले २०७१ साल माघ १८ गते बिर्तामोडका सुनिलकुमार अग्रवाललाई बजरंग पन्सारीसँग मिलेर अपहरण गरेका थिए । उनीहरुले अग्रवाललाई एम्बुलेन्समा राखेर झापाको धरमपुरमा रहेको हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

२०७१ साल माघ २३ गते प्रहरीले धरमपुरबाट सुनिलकुमार अग्रवाललाई अपहरणमुक्त गराएको थियो । अग्रवाललाई अपहरणमुक्त बनाउने क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक जना प्रहरी घाइते पनि भएका थिए । उक्त घटनापछि फरार रहेका नरेश मेचेलाई २०७३ साल असार २१ गते झापा जिल्ला अदालतले १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार