ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ

सल्यान । ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाँई हुन् तर छोरा बनेर नागरिकता लिएका थिए । इमामको घर दाङ हो । उनका बुवा विसमुल्ला मियाँ हुन् । दाङबाट पटक पटक नागरिकताका लागि पहल गर्दा र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आएका थिए । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ को सिफारिसमा उनले २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा नागरिकता लिएको प्रहरीले जनाएको छ ।

समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो । दुवैजनालाई नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम आज जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार