दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो । सात किलोमिटर सडक स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभयो ।

सडकको स्तरोन्नती पछि आउजाउ गर्न सहज हुने अध्यक्ष रोका मगरले बताउनुभयो । सडकको स्तरोन्नति पछि दूरी पनि छोटिनेछ । साथै सडक स्तरोन्नतीले यातायात क्षेत्र संगै व्यवसायीहरुलाई सहज हुनेमा अध्यक्ष रोका मगरले विश्वास व्यक्त गर्नुभयो । ‘गाउँमा कम्तीमा १२ महिना यातायात सञ्चालन गर्ने लक्ष्य सहित सडक स्तरोन्नतीको कार्य थालिएको छ’, गाउँपालिका अध्यक्ष रोका मगरले भन्नुभयो ।


गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयबाट स्तरोन्नति गर्न लागिएको दरबाङ- धारापानी सम्मको सात किलोमिटर सडक १४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

सात किलोमिटर सडक ग्राभेल गरिनेछ । साथै ८ मिटर चौडा, ग्रेड मिलाउने, नाली बनाउने,विभिन्न ठाउँमा आरसीसी ढलान गर्ने काम गरिने पुर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्यालले बताउनुभयो । सम्झौता अनुसार उक्त सडक स्तरोन्नतीको काम आगामी दुई बर्षभित्रमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार