बन्दले सुनसान बेनी

फिल्डमा उत्रिए सिडिओ अधिकारी

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार राति देखी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गरिएको हो ।

बेनीमा पहिलोदिन बन्दको प्रभाव पुर्ण रुपमा परेको छ । बेनी बजार सुनसान जस्तै देखिएको छ । बेनी नगरपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारी खुलेका छैनन् ।

बेनी नगरपालिकाको अनुरोध, म्याग्दी उद्योग वाणिज्य संघको आग्रह र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को शुक्रबार बसेको वैठकले अत्यावश्यकबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी अत्यावश्यक सेवा र बस्तु बाहेकका पसलहरुमध्ये औषधी पसल २४सै घण्टा खुला हुने अन्य अत्यावश्यक बस्तु तथा सेवाका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने बैठकले निर्णय गरेको थियो ।

बन्दको पहिलो दिन म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी अनुगमनका लागि सिडिओ फिल्डमा उत्रिनुभएको छ । उहाँले सदरमुकाम बेनीमा कोरोना संक्रमणको दर बढ्ढै गएपछि अझै तीव्र गतिमा फैलन सक्ने सम्भावना रहेकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवालाई रोक लगाइएको बताउनुभयो । अत्यावश्यक कामबाहेक सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन प्रजिअ अधिकारीले आग्रह गर्नुभएको छ ।

अत्यावश्यक बाहेकका सेवाहरु यही कार्तिक १४ गते शुक्रबार राती १२ बजेदेखि आउँदो २१ गते राती १२ बजेसम्म बन्द गर्ने जनाइएको छ । अहिले सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् । संक्रमित मध्ये ६० निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । तस्बिर : प्रजिअ उमाकान्त अधिकारीको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार