मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई राहत सहयोग

दिपक पुन मगर
बेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो ।

जिल्लामा बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहतका लागि मंगोल नेशनल अर्गनाईजेशनले राहतकोषमा सहयोग गर्न आह्वान गरेको थियो । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दी र गण्डकी प्रदेश सभाको संयुक्त आह्वानमा राहतकोषमा जम्मा भएको रकमबाट पीडित परिवारलाई राहत वितरण गरिएको दोस्रो जिल्ला अधिवेशन आयोजक सभाका अध्यक्ष डि.के.पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङ कल्लेनीका विस्थापित परिवारहरु बस्दै आएको ताकम हिलापोखरी क्याम्पमा विद्युत उपलव्ध गराउन ५० हजार रुपैयाँ बराबरको १५० वाटको सोलार बत्ती उपलब्ध गराइएको छ । यसैगरी सोही मराङमा पहिरोमा आफन्त गुमाएका परिवारलाई प्रति परिवार ५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ ।

यस्तै मालिका गाउँपालिका वडा नम्बर ७ विमका बाढी पहिरो पिडितहरुका लागि वडाकाे राहतकोषमा बीस हजार रुपैयाँ रकम जम्मा गरिएको छ। मालिका गाउँपालिका वडा नम्बर ६
दुखुखोलामा आएको बाढीमा परेर घाइते हुनुभएका दुखुबेशीका बाल्सिङ्ग रोका मगरको उपचारका लागि दश हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभा अध्यक्ष डि.के. पुन मगर, निबर्तमान जिल्ला सभा अध्यक्ष चित्र जुग्जाली, दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभा सहसचिव विकास पुन, निवर्तमान जिल्ला सभा कोषाध्यक्ष जयन्द्र रोका मगर लगायत जिल्ला सदस्यहरू जिवन पुन र बुलप्रसाद रोकामगर उपस्थित रहेको थियो ।

गत असार २५ र ३६ मा परेको अविरल वर्षातको कारण आएको बाढी पहिरोबा मालिका गाउँपालिका ७ विम र धवलागिरी गाउँपालिका ६ मराङमा ठुलो भौतिक तथा मानविय क्षति भएको छ । मराङ र विममा गरी २८ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। असार २५ देखी यता गएको बाढी पहहिरोबाट जिल्लाभर ठुलो धनजनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार