रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ कि ४० वर्षीया सविता थापालाई बुधबार विहान प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

‘दैलेखबाट ल्याएर वीरेन्द्रनगरको पञ्चकोशी होटलमा बिक्रीका लागि डिल भइरहेको सुचनाका आधारमा होटलको कोठा चेकजाँच गर्दा निलो झोलामा दुई वटा रेडपाण्डाका छाला बरामद गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘छालासँगै चार जनालाई पनि पक्राउ गरेका छौं।’ प्रहरीका अनुसार नेपालगञ्जका एक व्यापारीको प्रतिनिधि बनेर थापाले आठ लाख रुपैयाँमा रेडपाण्डाका दुई वटा छाला खरिदको प्रक्रिया सुरु गरेकी थिएन्। ‘छाला खरिद गर्ने नेपालगञ्जका व्यापारी सुर्खेत नआउँदै हामीले बरामद गर्‍यौं,’ उनले भने, ‘मुख्य कारोवारीको पहिचान खुलिसकेको छ, चाँडै पक्राउ गछौं।’

प्रहरीका अनुसार चार फिट र तीन फिट छ इन्च लम्वाईका दुई वटा रेडपाण्डाको छाला बरामद गरिएको छ। प्रहरीको अनुसन्धानबाट दैलेखको नौमुलेबाट वीरेन्द्रनगरबाट ल्याउने तीनै जना भरिया रहेको खुलेको छ। ‘प्रारम्भीक बयानका क्रममा उनीहरुले वीरेन्द्रनगरसम्म भरियाका रुपमा आफूहरु प्रयोग भएको बताएका छन्,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले रेडपाण्डाको छाला र पक्राउ परेकाहरुलाई बुधबार डिभिजन वन कार्यालय सुर्खेतलाई बुझाएको छ।

डिभिजन वन कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ बमोजिम पक्राउ परेकाहरुलाई कारवाही प्रक्रिया अघि बढाइने छ। ऐनमा रेडपाण्डा पार्ने र ओखेटोपहार ओसार–पसार गर्नेलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय वा दुबै हुन्छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार