लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार नि:शुल्क नै भएको बताए।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको शुल्क लिने बताएको भए पनि लुम्बिनी प्रदेशका चारवटै अस्पतालमा निस् शुल्क नै भएको उनले बताए। सरकारले यसअघि नै नि:शुल्क गर्दै आएको उपचारलाई रोक्न र शुल्क लिन प्रदेश सरकार र मन्त्रालयमार्फत कुनै पनि परिपत्र नगरिएको र नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको उनले बताए।

‘प्रदेश सरकारमार्फत् नि:शुल्क उपचारको व्यवस्था हटाएर शुल्क लिन मन्त्रालयलाई पनि कुनै परिपत्र आएको छैन, मन्त्रालयले पनि कुनै पनि अस्पताललाई त्यस्तो परिपत्र गरेका छैनौ, यसअघि जसरी उपचार भइरहेको थियो सोहीअनुसार उपचार जारी रहेको छ,’ उनले सेतोपाटीसँग भने।रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल र भेरी अस्पताल बांकेलाई कोरोना विशेष अस्पतालको रुपमा छुट्याएर बिरामीको उपचार भइरहेको छ।

यी अस्पतालहरु अहिले एक सय ६६ जना संक्रमितको उपचार भइरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको धागो कारखानास्थित कोरोना अस्पतालको आइसोलेसनमा २६ र आइसियूमा १६ गरी ४२ जना, भीम अस्पताल भैरहवामा ३७ जना आइसोलेसन र ५ जना आइसियूमा गरी ४२ जनाको उपचार भइरहेको छ।भेरी अस्पतालको आइसोलेसनमा ६१ र आइसियूमा २ गरी ६३ जनाको उपचार भइरहेको छ।

भेरीमा २ जनाको भेन्टिलेटरको माध्यमबाट उपचार भइरहेको निर्देशनालयले जनाएको छ।त्यस्तै बेलझुण्डी दाङमा पनि १४ जना आइसोलेसन र ५ जना आईसियू गरि १९ जना उपचाररत रहेका छन्। यी चारवटा अस्पतालमा हालसम्म १ हजार ९४ जना भर्ना भएकोमा ८ सय ५० निको भएर घर फर्किइसकेका छन्। त्यस्तै ७८ जनाको उपचारको क्रममा मृत्यु भएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार