विश्वभर कोरोना संक्रमणबाट १ हजार १० जना नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख २९ हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालसहित विश्वभर १ लाख ७१ हजार ४ सय ४ जना कोरोना संक्रमण देखिएको छ भने ति मध्ये १ लाख २८ हजार ४ सय ८६ जना संक्रमण मुक्त भएका छन् । विश्वभर संक्रमित नेपाली मध्ये ७४ प्रतिशत कोरोना मुक्त भएका छन् । नेपालसहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार