हनुमानढोकामा बलि नदिइने

काठमाडौँ । बडादसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बलि चढाइने परम्परा यस वर्ष स्थगित गरिएको छ । बलि पूजाका बेला भीडभाड हुने र कोभिड–१९ महामारीको जोखिम बढ्न सक्ने भन्दै उक्त परम्परा यस पटकका लागि स्थगित गरिएको हो ।

निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर प्रमुख, हनुमानढोका दरबार हेरचाह अड्डा र हनुमानढोका दरबारको दसैंघरका मूल पुजारी बसेर यस्तो निर्णय गरेका हुन् । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ । यही तिथिमा गोरखा, नुवाकोट दरबार, दक्षिणकाली र काभ्रेपलाञ्चोक भगवती मन्दिरमा गरिने बलिसहितको पूजा भने नरोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै, उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि निरन्तर चल्नेछ । शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलिसहित पूजा गर्ने चलन छ ।

कार्यालयका प्रशासनिक प्रमुख राजभाइ श्रेष्ठले बलि दिने बेलामा हुने भीडलाई मध्यनजर गरेर स्थगित गरिएको बताए । हनुमानढोका दरबारको दसैंघरका मूल पुजारी देवराज अर्यालका अनुसार बलिबाहेक दसैंघरमा गरिने पर्व पूजा यथावत् चल्नेछ । ‘पूजा घटस्थापनादेखि विजयादशमीसम्म गर्नुपर्छ,’ उनले भने, ‘अन्तिम दिन टीका, जमरा, प्रसाद राष्ट्रप्रमुखलाई चढाउने परम्परा छ ।’ उनका अनुसार दसैंघरमा दुर्गा सप्तशती, श्रीमद् देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि राजधानी बनाए । हनुमानढोका, पाटन र भक्तपुर दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको भगवती स्थापना गर्ने प्रचलन बसाले । उक्त समयदेखि नै प्रत्येक वर्ष भगवतीलाई बलिसहित पूजा गर्ने चलन बसेको हो । यसरी भगवतीलाई चढाइएको बलिको प्रसाद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, गृह मन्त्रालय, अर्थ मन्त्रालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायत व्यक्ति तथा निकायमा पुर्‍याउने गरिन्छ ।

मार्कन्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तबीज राक्षसको बध गरेको र दशमीको दिन विजय उत्सव मनाएको मानिन्छ । यसै दिन कोतहरूमा हर्ष बढाइँका साथ कोत पूजा तथा निसान पूजा पनि गरिन्छ । नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसान पूजा र कोत पूजा गर्ने प्रचलन छ ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार