हेल्मेटभित्र १० लाख रुपैयाँसहित एक युवक पक्राउ

रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका छोरा वर्ष २० का दीपक पटेल रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन ।

ईशनाथ नगरपालिका वडा नं.७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पटेलले लगाएको सेतो रंगको हेल्मेटभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको एसपी शाहले जानकारी दिए ।बरामद भएको रकममा रु १ हजार दरको नेपाली नोट ८ लाख र ५ सय दरको नेपाली नोट दुई लाखसमेत गरी जम्मा नेपाली नगद १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोत नखुलेको कारण आवश्यक कारवाहीको लागि पटेललाई मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।भारतबाट ठूलो परिमाणमा रकम लिएर आउँदा ईशनाथमा पक्राउ पर्ने यो चौथो व्यक्ति हुन् । पछिल्लो समय रौतहटमा प्रहरीले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिने क्रम बढेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार