अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

न्युयोर्क  । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन् ।  ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहेपनि अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनलाई विजयी घोषणा गरिएको हो । इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपम अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

बाइडेनले पेन्सिलभेनियामा ३३ लाख ४५ हजार ९ सय ६ मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ४ सय ४८ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव ५ प्रतिशतको अग्रता कायम गरेर पेन्सिलभेनियामा जितेका हुन् ।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च रहेको छ । जर्जियामा अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन् । ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ । खसोखासबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार