आख्यानकार गगनसिंह थापाको निधन

काठमाडौँ । यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त कथासंग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’ जस्ता उपन्यास कृति प्रकाशित छन् ।

गत महिना मात्रै सांग्रिला बुक्सबाट उनको ‘महाप्रलय’ उपन्यास प्रकाशित भएको थियो । आख्यानकारकै रूपमा थापाका ‘मरुभूमिकी महारानी’ र ‘अस्ताञ्चलको ढोकाबाट’ कृति पनि प्रकाशोन्मुख छन् । थापाका छोरा हिक्मतका अनुसार बुबाको इच्छाअनुसार उनको अन्तिम संस्कार कर्णाली नदीमा गरिने भएको छ । स्वर्गीय थापाका श्रीमती, तीन छोरा र एक छोरी छन् । पाटेखेत, अछाममा जन्मिएका थापा कर्णाली भेगमा सामाजिक अभियन्ताका रूपमा समेत चिनिन्छन् । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार