आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ

काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–८ घर भई तार्केश्वर बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका–५ डाँडाखर्क घर भई वनस्थली ढुंगेधारा बस्ने ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासी कावासोती नगरपालिका–१२ पिठौली घर भई स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् ।

प्रहरी अनुसनधानको क्रममा अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरुको सूचना संकलन गरेर निगरानी राखी खोजतलास गर्ने क्रममा कीर्तिपुरस्थित चोभार डाँडाबाट उनीहरु पक्राउ परेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए । स्थानीय व्यक्तिहरुसँग पैसा माग्दै दुःख दिई समाजमा अशान्ति सिर्जना गरेको आरोप उनीहरु माथि छ ।

बुधबार बिहान १० बजे उनीहरुले चारजना स्थानीय व्यक्तिलाई ‘प्रहरी हुँ’ भन्दै डरत्रास देखाएर ट्याक्सीमा राखेर चोभार डाँडा पुर्याएका थिए । प्रहरी चौकी जानुपर्ने भयो भन्दै चोभार लगेको अनुसन्धानबाट खुलेको छ । मागेकोजति पैसा नदिएपछि ४ जनालाई उनीहरुले ट्याक्सीमा राखेर चोभार पुर्याएको खुलेको छ ।

उनीहरुले ट्याक्सीलाई बीचमा राखेर अगाडि पछाडि एक÷एक वटा मोटरसाइकलले स्कर्टिङ दिँदै लगेको एसएसपी थापाले बताए । चोभार पुर्याएपछि अपहरणमा परेको भन्दै एकजनाले आफ्नो मामालाई म्यासेज गरेका थिए । उक्त म्यासेज पाएपछि घटनाबारे प्रहरीकोमा सूचना पुगेको हो ।

‘११ बजेतिर माछापोखरीबाट ४ जना व्यक्ति अपहरणमा परेको भन्ने खबर आयो,’ एसएसपी थापाले रातोपाटीसँगको कुराकानीमा भने, ‘म्यासेज आएको मोबाइल नम्बरमार्फत कल ट्रयाकिङको लोकेशन हेर्दै जाँदा चोभार देखियो । तत्कालै महाशाखाको टोली चोभार पुगेर ३ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।’

घटनाको प्रकृति हेर्दा अपहरण नदेखिएको थापाले बताए । अनुसन्धानको क्रममा रोशन तामाङ सशस्त्र प्रहरी बल, नेपालको भगौडा प्रहरी हुन् । यस्तै अन्य दुईजना सेक्युरिटी गार्डको काम गरेर छाडेको पाइएको छ । उनीहरुले सानातिना ठेक्कापट्टाको काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता हुनसक्ने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार