उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि सीमामै

ताप्लेजुङ । उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएका फलामका ह्युमपाइप अलपत्र परेका हुन् ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेले सिमाना कटाएर नेपालतर्फ लडाइएका ह्युमपाइप हिउँदमा हिउँले पुर्ने र वर्षातमा बाहिर देखिने गरेको बताए । ‘दिन त दिए तर ल्याउनै सकिएन,’ वडाध्यक्ष भोटेले भने, ‘एउटै पोल एक क्विन्टलको छ, मान्छेले बोक्न सकिँदैन, गाडीमा ल्याउन साधन छैन के गर्नु र ?’

चीनको डिङजे काउन्टीले १० वटा ह्युमपाइप दिएको हो । ह्युमपाइप गह्रुंगो र धेरै पानीको निकास हुने खालको भएकाले वर्षातमा समेत उपयोगी हुने अपेक्षा स्थानीयको छ । ‘फक्ताङलुङ गाउँपालिकाको समस्या सुन्ने क्रममा हिउँद र वर्षातमा यातायातका साधन चलाउन हामीले के सहयोग गर्छौं भनेर डिङजे काउन्टीका अधिकारीले प्रस्ताव गरेका थिए,’ गाउँपालिका प्रवक्ता छेतेन वालुङले भने, ‘हामीले खोलामा पुल छैन, त्यसैकारण चलाउन सकिएन भनेपछि उनीहरूले पाइप ल्याएर सिमानामा लडाइदिए ।’

उत्तरमा चीनसँग र दक्षिणमा ताप्लेजुङ सदरमुकाम फुङलिङसँग सिमाना जोडिएको फक्ताङलुङ क्षेत्रफलका हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिका हो । सीमावर्ती क्षेत्रबाटै सुरु भएको तमोर नदी सुनसरीमा सप्तकोसी नदीमा पुगेर मिसिन्छ । यही तमोर नदीमा विभिन्न स्थानमा पुल बनाउनुपर्ने आवश्यकता छ ।

चीनले सिमानासम्म १८ चक्के लरीमा पाइप ल्याएको थियो । ‘सडकका कारण त्यो लरी हाम्रो बस्तीसम्म आउन सकेन,’ प्रवक्ता वालुङले थपे, ‘तपाईंहरूले ल्याइदिनुहोस् भन्दा उनीहरूले अर्काको देशमा बिनाअनुमति आउन मिल्दैन भने ।’ अहिले पनि चिनियाँ अधिकारीहरूले ‘हामीले दिएको सामान लगेनौ’ भनेर गुनासो गर्ने गरेका उनले बताए । सडक स्तरोन्नति गरेपछि मात्रै ह्युमपाइप प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार गाउँपालिकाले प्रत्येक वर्ष चार वटा अस्थायी पुल निर्माण गर्छ । सिंवा र खेजेनिम, छिरुवा र इखावु जोड्न एकरएक ठाउँमा तथा तापेथोक र लेलेप जोड्ने दुई ठाउँमा पुल निर्माण हुन्छ । सबै पुल तमोर नदीमाथि लगाइन्छ । जसको लागत १५ लाख रुपैयाँको हाराहारीमा आउँछ । काठबाट बनाइएका पुल वर्षातको भेलले बगाउने र मक्किएर ६ महिनाभन्दा बढी टिक्दैन ।

चीनले दिएका पाइप ल्याउन सके ओलाङचुगोला र लेलेप, लेलेप र तापेथोक जोड्ने गरी दुई ठाउँमा पुल बनाउन सकिने उनले बताए । सदरमुकामबाट ओलाङचुङगोलासम्म सडक जोडिन अब सात किलोमिटर बाँकी छ । स्थायी पुल बनाउने योजना भने अहिलेसम्म बनेको छैन । सदरमुकामबाट गोलासम्म तीन ठाउँमा ह्युमपाइप राख्न सके नियमित यातायात सेवा सञ्चालन गर्न सकिने गाउँपालिकाले जनाएको छ । तर सडकका कारण ठूला गाडी नचलेसम्म ह्युमपाइप ल्याउने सम्भावना नभएको एभेङले बताए । चीनले गोलाको बस्तीसम्म आफैंले सडक बनाइदिने बताएको छ । तर कोरोनाका कारण योजना अन्योलमा रहेको उनको भनाइ छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार