किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडी । बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका–३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

बलात्कारको घटना मिलाउन खोज्ने दुवै जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बलात्कारको घटनामा संलग्न भनिएका दीपकसिंह धामी भारतमा रहेका बुझिएको छ भने अर्का एकजनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो। गत जेठमै किशोरीमाथि बलात्कार भए पनि त्यो बेला पीडित पक्षलाई एक तोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो।

किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अधिकारीले जानकारी दिए।

कार्तिक मसान्तभित्र पीडित पक्षलाई एक तोला सुन दिने शर्त राख्दै तमसुक बनाइएको थियो। कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडिकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो। यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरीले बताएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार