कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै

काठमाडौं । गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भैरहेको छ ।

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यहि युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ कीर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जनले भने, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलय पनि निर्माण गर्ने योजना ।’

मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्क मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि ३० बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भैसकेका छन् । इतिहास अनुसार पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड भई गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका करिब तीन सय सेनाले प्रतिकार गरेका थिए ।

‘त्यही युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए थिए भने थ्वीनारायण शाह पनि किर्तिपुरे फौजको कब्जामा परेका थिए,’ गोर्खाली फौजबाट त्यहि युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भन्नुभयो, ‘पहिला किर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । शहरीकरणसँगै अब किर्तिपुरको त्यो पहिचान हरायो ।’ महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रुपमा जोड्ने योजनासहित नगरपालिका अघि बढेको जानकारी दिए ।

‘युद्ध स्मारक पार्क’ मार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित निर्माणधिन पार्क अनुगमनका लागि किर्तिपुर पुगेको टोलीलाई कालु पाण्डेको शीर छेदन गरेको खस्रे ढुंगा नजिकै उभिएर चोरी औँलाले काठमाडौतर्फ देखाउँदै महर्जनले भने,’ ‘निर्माणाधिन पार्क त्यसैको एक आधार हो ।’

शाक्यले युद्ध पार्क अनुगमनकै क्रममा पार्क निर्माणको काम अलपत्र नछाड्न आग्रह गरे । उनले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘काठमाडौँ महानगरपालिका आफू मात्रै होइन छिमेकी नगरसँग पनि साझेदारी गरी अघि बढ्नुपर्छ भन्ने योजनामा छ,’ शाक्यले भने, ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, संस्कृति संम्पदाको संरक्षण र ऐतिहासिक–धार्मिक तथा पर्यटकीय स्थानको विकास जस्ता परियोजनामा हामीले सहयोग गर्दै आएका छौँ ।’

अनुगमन टोलीमै सहभागी किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती रिजाल खड्काले बाघभैरव मन्दिरबाट ओरालो झर्दै गर्दा सञ्चारकर्मीहरुसँग काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगकै कारण युद्ध पार्क निर्माणको योजना अघि बढेको जानकारी दिइन् । उनले काठमाडौँ महानगरपालिकाले दिएको एक करोड खर्च भैसकेको भन्दै प्रदेश सरकार र महानगरपालिकासँग पनि अझै सहयोगको अपेक्षा गरेको बताइन् । किर्तिपुरका तीन ओटा वडा–१, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पुरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार