गुल्मीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ।

गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो। ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन्। राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ। रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा उपभोक्तामार्फत रु. १८ लाख र आव २०७५/०७६ मा दुई करोड ८० लाख खर्च भएको छ।

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए। खेल मैदानमा रोपिएको दुवोलाई सिंचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ। कूल १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ। सो रङ्गशालालाई मदन भण्डारी राजमार्गले छोएको छ।

रङ्गशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन्। गाउँमै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन्। ‘रङ्गशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्’ स्थानीयवासी बोमलाल भण्डारीले भने, ‘सकेसम्म छिटै निर्माण सम्पन्न भए हुन्थ्यो। ’ रासस/nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार