गुल्मी दुर्घटना:मृतक संख्या ६ पुग्यो

काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल लगिएका उनको बिहान ९:५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।

इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् । अर्की घाइते २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।

जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालक कमल हितानले बताएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार