जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

रसुवा । पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाका अनुसार १९ दिनपछि होटल खोलिएको हो। लाङटाङ पदमार्गमा सञ्चालित सम्पूर्ण होटल सञ्चालनमा आएको छ। लाङटाङ आउने पर्यटकले पिसिआर गरेर आउन उनले आग्रह गरेका छन्।

‘हाम्रो क्षेत्रमा अहिलेसम्म कोरोना देखिएको छैन’, उनले भने, ‘मान्छेको आवतजावत बढेपछि जोखिम बढी हुन्छ।’ पिसिआर गरेर आएमा सबै जना ढुक्क हुने उनको भनाइ छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि गएको कार्तिक १८ गतेदेखि यस क्षेत्रमा सञ्चालित होटल, लज तथा चियापसल बन्द गरिएको थियो। त्यसअघि लाङटाङ क्षेत्रमा दैनिक ६० जनासम्म स्वदेशी पर्यटक गइरहेका थिए।

पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिन लगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आइसकेको गोसाइँकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले जनाएको छ।

असोजदेखि कार्तिक १५ सम्म लाङटाङ जाने नेपाली पर्यटकको संख्यामा वृद्धि हुँदै गएको र होटल बन्द भएपछि शून्यमा झरेको क्यान्जिनका होटल व्यवसायी ग्याल्बु लामाले बताए। ‘यस क्षेत्रका होटल बन्द हुनु अगाडि दैनिक ६० जनासम्म पर्यटक आइरहेका थिए’, उनले भने, ‘होटल सञ्चालनमा आएपछि पुनः पर्यटकको आगमन हुने आसा छ।’

जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन्। लाङटाङ पुग्ने पर्यटकमध्ये सीमित पर्यटकले गन्जला पास गर्ने गरेका छन्। केही पर्यटक भने धार्मिकस्थल गोसाइँकुण्ड हुँदै सुन्दरीजल समेत जान्छन्।

नेपालको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित लाङटाङमा लाङटाङ हिमाल, पुरानो गुम्बा, क्यान्जेन उपत्यका र नेपालको पहिलो चिज कम्पनी लगायतका पर्यटकीय क्षेत्र छन्। याला पिक, क्यान्जिन रि, च्यारकुरी पिक त्यहाँका थप टे«किङ स्थल हुन्। ती क्षेत्रमा वर्षेनी हजारौं पर्यटक पुग्ने गरेका छन्।गाइड र पोटरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको थियो। कोभिड–१९ का कारण लामो समयसम्म पर्यटकको आगमन शून्य भएको लाङटाङमा असोजदेखि पर्यटक आउन थालेका थिए।

गएको पुस अघिसम्म पर्यटकीय क्षेत्र लाङटाङमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुर लगायतका देशका पर्यटक जाने गरेका थिए। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। लाङटाङबासी तिब्बतियन भाषा बोल्ने गर्दछन्। लाङटाङमा तिब्बतियन, नेपाली र अंग्रेजी भाषा बढी बोलिन्छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार