ज्येष्ठ नागरिकको पौरखः चोयाका सामग्रीबाट मनग्य आम्दानी

कास्की । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा कास्कीका एक ज्येष्ठ नागरिकले भने चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् ।

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गरेका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आफ्नो दैनिक खर्च चलाएको अनुभव सुनाए । विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उनले जानकारी दिए ।

बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए। रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार