थानकोट प्रहरीले गर्‍यो दुई लाख थान पटाका नष्ट

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ।करिब १४ लाख मूल्य बराबरको विभिन्न किसिमका पटाका काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ठूलो परिमाणमा पटाका नष्ट गरिएको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले नागढुंगाबाट चेकका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको हो। गत सोमबार गौरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेक गर्ने क्रममा ८ हजार ४ सय थान खुर्सानी पटाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटाका, लामो रकेट पटाका १९० वटा लगायत बरामद गरिएको थियो।

त्यस्तै, महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बस चेकको क्रममा सिटमुनि लुकाएको अवस्थामा १० बोरा पटाका बरामद गरिएको थियो। त्यही बरामद गरिएका पटाका नष्ट गरिएको डिएसपी श्रेष्ठले बताए।अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरी विष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको छ।महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो।दुवै घटनामा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार