पक्राउ परेकालाई छुटाउन गाउँलेले निकुञ्जको गेट भत्काए

नवलपरासी । माछा मर्न गएका ३२ जनालाई निकुञ्जले पक्राउ गरेको भन्दै चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारी घेर्न गएका स्थानीयले कार्यालयको गेट भत्काएर उनीहरूलाई छुटाएका छन् ।

शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले पक्राउ गरेको हो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा हुन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई तस्करको आरोप लगाएर पक्राउ गरेको विरोधमा स्थानीयहरुले निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई मुक्त गरेको जानकारी दिए ।

‘उनीहरुको जिविकोपार्जन भनेकै माछा मार्ने हो ।’, मर्दनियाले भने । जरिवाना गरेर छोडिदिन निकुञ्ज कार्यालयलाई आग्रह गर्दा नमानेपछि गाउँलले कार्यालय गएर सबैलाई छुटाएर लगेको जानकारी दिए ।

निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ । पक्राउ परेका स्थानीय छुटाउन अमलटारीका गाउँलेले कार्यालयको गेट फोरेर सबैलाई निकालेर आइतबार बिहान घरघर पठाएका छन् । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार