भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका थिए। उनलाई सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो।

शुक्रबार बिहान सवा ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। त्यसैगरी, मंसिर ८ गते कोरोना संक्रमण भएकी हेटौंडाकी महिलालाई ११ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो।

कोभिड आइसियूमा राखेर उपचार गराइएकोमा उनको कोभिड-१९ निमोनियाका कारण शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको छ। यसअघि बिहीबार मात्रै हेटौंडा-८ की ५७ वर्षीया कोरोना संक्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवन ठेगाना भएका ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ५ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले सक्रिय संक्रमितको संख्या ४ सय ८१ छ। तीमध्ये अस्पतालमा ३९ र पब्लिक आइसोलेसनमा १५ जना छन्। अन्य सबै होम आइसोलेसनमा छन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार