११ वर्षपछि छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

सुनसरी । छोराको हत्या गरेको आरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए । छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो ।

माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं २०६६ मङ्सिर २२ गते ससुरालीघरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।

मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरु भएको सुनसरी प्रहरीले जनाएको छ । रासस/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार