नक्कली छाप बनाएर रावश्व असुल्ने व्यक्ति पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुल गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२ का अजयकुमार साहलाई जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र रहेका खोलाहरूबाट नदीजन्य पदार्थको ठेक्का पाएको कलैयाको बिनोद निर्माण सेवाको रसिदमा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेर साहले खोलाबाट राजश्व उठाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी दिपक श्रेष्ठले बताए ।

उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेर साहले कहिलेदेखि खोलाबाट राजश्व असुल्ने काम गर्दै आएको थिए भन्ने कुरा अनुसन्धानबाट खुल्ने उनले बताए । अहिले केही जानकारी नभएको बताइएको छ ।

मंसिर ७ गते उपमहानगरपालिका–१६ मा पर्ने बालगंगा खोलामा नक्कली छाप प्रयोग गरिएको रसिदबाट ठेकेदारका मानिसले कर संकलन गरेको भन्दै स्थानीयले जितपुरसिमरा उपमहानगरपालिकालाई जानकारी गराएका थिए ।

स्थानीयले जानकारी गराएपछि उपमहानगरपालिकाले थप अनुसन्धान गरि कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरेको उपमहानगरपालिका मेयर डा. कृष्ण पौडेलले बताएका छन् ।

ठेक्का पाएको बिनोद निर्माण सेवाका प्रोप्राइटर शेषनाथप्रसाद साहलाई उपमहानगरपालिकाले मंसिर ९ गतेदेखि खोलाबाट नदीजन्य पदार्थ उत्खन्न गर्ने अधिकार दिए पनि त्योभन्दा पहिलादेखि नै रसिद काटिएको अवस्था फेला परेको नगरप्रमुख डा. पौडेलले बताए ।

पसाहा, बालगंगा र दुुधौरा खोलबाट उत्खन्न गर्नुपर्ने भन्दा बढि नदीजन्य पदार्थ उत्खन्न गर्न बिनोद निर्माण सेवाले नक्ली रसिद प्रयोग गरेको अशंका यहाँका स्थानीयले गरेका छन् । नक्कली रसिद फेला परेपछि ठेकेदार शेषनाथसँग उपमहानगरपालिकाले जवाफ समेत मागेको थियो । nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार