मालिकाको रुममा पाठेघर सम्बन्धी निशुल्क शिविर, एक सय ४७ जना लाभान्वित

बेनी ।  म्याग्दीको मालिका गाउँपालिका–२, रुममा पाठेघर सम्बन्धी निशूल्क शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखा आयोजनामा सम्पन्न शिविरमा १४७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

ग्रामीण भेगका महिलाहरूको पाठेघर खस्ने समस्या भएका बिरामी पहिचानका लागि शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार , भिआईए  जांच गराउदा ४ जनामा पाठेघरको मुखमा प्रारम्भिक क्यान्सर, २ जनाको पाठेघरको मुखमा मासु पलाएको र ८ जनाको पाठेघर खसेको भेटिएको छ । उनिहरुलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र दरवाङका मेडिकल अधिकृत डाक्टर प्रसन्त सागर यादव र प्रमुख कार्कीले जांच गर्नुभएको थियो । यसैगरी रुम स्वास्थ्य चौकीका प्रमुख बिरबहादुर पुन लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण गरिएको थियो ।

सानै उमेरमा बिवाह गर्ने, छिटो छिटो बच्चा जन्माउने, गर्भ र सुत्केरी अवस्थामा जोखिमयुक्त काम गर्ने तथा चेतनाको अभावमा रोग लुकाउदा ग्रामिण क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्या रहेको प्रमुख कार्कीको भनाई छ  ।

ग्रामिण क्षेत्रमा पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरि उपचारको पहुँचमा ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष नर बहादुर पुन र वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार