टुहुरो अर्ना अस्पतालमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो ।

अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा.बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताए । उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडिको उनले जानकारी दिए ।

विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले आठ वटा अर्ना मरेका छन् ।

स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म चार भाले, दुई पोथी गरी छ वटा बच्चा जन्मिएका छन् । निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार