नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीनजना पक्राउ

झापा । नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई चैनपुर प्रहरीले पक्राउ गरेको छ।प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का मिलन भनिने सुरेन्द्र राईलाई पक्राउ गरेको हो।

उनीहरूलाई चार वर्षदेखि नक्कली कम्पनीको नाममा उन्नत जातको गाइपालन तथा चिस्यान केन्द्र स्थापना गरेर ठगी गरेको आरोप छ। चैनपुर वडा नम्बर ३ र ४ का किसानलाई आर्थिक प्रलोभन देखाएर २० लाख १० हजार ठगी गरेर फरार रहेका उनीहरूलाई नेपालगञ्बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ठगी धन्दाका मुख्य योजनाकार रमेश भनिने नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ।पोखरी ग्रुप अफ कम्पनी प्रा.लि. नामको नक्कली कम्पनीबाट उनीहरूले कम्तीमा पाँच सय किसानलाई ठगी गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। प्रहरीले पक्राउ गरेका तिनै जनाले राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता खोलेर किसान ठगी गरिहेका थिए।

प्रहरीका अनुसार उनीहरूले कम्पनीमा कर्मचारीसमेत नियुक्ति गरेका छन्। नियुक्ति भएका कर्मचारीले समेत तलब नपाएको गुनासो प्रहरीमा पुगेको छ।किसानका घर(घरमा पुगेर उनीहरूले साउदी अरबको अलदाना भिजन कम्पनीबाट अनुदान पाउने र कृषकले कम लगानीमा भारतको पञ्जाबबाट उन्नत जातका गाई खरिद गर्न प्रेरित गरेका थिए।

उनीहरुले किसानलाई १ लाखमा गाई खरिद गरि किसानलाई पाल्न प्रेरित गरेको चैनपुर प्रहरीले जनाएको छ । उनीहरूले किसानलाई गाई खरिद गर्न लगाएर रकम आफैं असुलेको प्रहरी बताएको छ। प्रहरीका अनुसार ठगी गर्नेले ती वडाका किसानलाई मिनरल वाटरको फ्याक्ट्री खोल्ने, दुग्ध चिस्यान केन्द्र बनाउने बहानामा रकम लिएको खुलेको छ।

प्रहरीको नियन्त्रमा रहेका तिनै जनाले स्थानीयलाई विश्वासमा पार्नका लागि भौतिक पूर्वाधारसमेत निर्माण गरेका थिए। कम्पनी आधिकारिक देखाउन उनीहरूले कम्पनी दर्ता नम्बर पनि नक्कली राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। चैनपुर प्रहरीका अनुसार उन्नत जातको गाई पालन शीर्षकमा १०५ किसानबाट पेश्कीबापत चार ४ लाख १० हजार, दुग्ध चिस्यान तथा डेरि सञ्चालन गर्न १४ लाख ४५ हजार र कम्पनी सेयर सदस्यताबापत १ लाख ५५ हजार गरी जम्मा २० लाख १० हजार ठगी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार