भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्याका योजनाकार पक्राउ

काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने योजनाकार पक्राउ परेका छन्। प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ टिमुरेका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनलाई महाशाखाबाट खटिएको टोलीले काभ्रेको धुलिखेल नगरपालिका-१ मयुरपार्कबाट आइतबार दिउँसो २ बजे पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले महानगरीय प्रहरी वृत्त, जगातिमा बुझाएको छ।

उनीमाथि रामेछाप सोनापती गाउँपालिका घर भइ भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को हत्याको आरोप छ। एसपी कार्कीका अनुसार असोज २१ गते भएको घटनाको मुख्य योजनाकार तामाङ थिए।

उक्त दिन योञ्जनको पसलमा दुई जना अपरिचित व्यक्ति आएका थिए। उनीहरूले बियर खाएर आफन्तलाई जग्गा चाहिएको बहाना बनाएका थिए। बहाना बनाएर योञ्जनलाई जग्गा हेर्न भन्दै पसलभन्दा एक किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरेका थिए।

कुटपिटपछि योञ्जनले लगाएको सुनको ब्रासलेट तथा मोबाइल समेत लुटपाट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका योञ्जनको बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान गर्न महाशाखाले अपरेसन रक्स सञ्चालन गरेको थियो। त्यस अपरेशन मार्फत हत्यामा संलग्न कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई असोज २६ गते नै पक्राउ गरेको थियो। उनीहरू भक्तपुर जिल्ला अदालतको आदेशले पूर्पक्षको लागि थुनामा छन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार